समाचारशुक्रवार, मंसिर २१, २०७५

कांग्रेस नेतृको दाबी- निर्मलाका अपराधीहरू सिंहदरबारको सुरक्षाभित्र

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्यामा प्रधानमन्त्री र गृहमन्त्री नै नैतिक जिम्मेवार हुनुपर्ने बताएकी छन्। महिलालाई सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापाले राजिनामा दिनुपर्ने उनले बताइन्।

बुटवलमा २१ मंसीरमा आयोजित साक्षात्कारमा बोल्दै डा. संग्रौलाले भनिन्, “नेपालमा न्याय मर्‍यो, न्याय बिकिसक्यो, अपराधीहरू सिंहदरबारको सुरक्षाभित्रै छन्।’

मुलुकका हजारौं निर्मलाहरूलाई न्याय दिलाउन आफूले ३ महिनादेखि अभियान चलाइरहेको उनले जानकारी दिइन्। उनका अनुसार ११ असोजमा इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा सञ्चालन भइरहेको छ।

निर्मलाहरूलाई न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भव नभएको उनको भनाइ थियो। सरकार बादशाह, महेन्द्रपथ र निरंकुशतातर्फ गइरहेको दाबी पनि उनले गरिन्। सरकारले न्याय नदिँदा निर्मलाका बाबुको मानसिक सन्तुलन गुमेको डा. संग्रौलाले उल्लेख गरिन्।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस