‘ए’ डिभिजन लिग- मनाङ मर्याङ्दीलार्इ पच्छ्याउँदै थ्रीस्टार, २ क्लब अझै जितका लागि संघर्षरत (अंक तालिकासहित)
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत छैटौं चरणका खेल सकिँदासम्म २ वटा क्लब अझै पहिलो जितका लागि संघर्षरत छन् ।
६ खेल खेलिसकेका मच्छिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) अझै जितका लागि संघर्ष गरिरहेका छन् । तर, रेलिगेसनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत मिलेको छ ।
छैटौं चरणका खेल सकिँदासम्म मनाङ मर्याङ्दी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ । मनाङ मर्याङ्दीलाई थ्री स्टारले पछ्याइरहेको छ ।
१३ असोजदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले ६-६ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये छैटौं चरणसम्म आइपुग्दा ४२ खेल सकिएका छन् । उपाधि दाबेदार क्लब मनाङ मर्याङ्दीले अहिलेसम्म सबै ६ खेल जितेको छ । मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा २ जित र २ बराबरी खेलेको छ । लिगमा यी दुई क्लब मात्र अहिलेसम्म अपराजित छन् ।
यस्तै, एक खेल मात्र हारेका थ्री स्टार र संकटा अंक तालिकामा आर्मीभन्दा अगाडि छन् । मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएको छ । तर, आर्मीले २ खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा ४ अंकले पछि परेको छ ।
गोलको खोजीमा मच्छिन्द्र
लिगमा झण्डै आधा खेल खेलिसकेका २ क्लब जितविहीन छन् । त्यसमा पनि एउटा क्लबले अहिलेसम्म गोल गर्न सकेको छैन । एनआरटी र मच्छिन्द्रले अहिलेसम्म जितको स्वाद पाएका छैनन् । मछिन्द्रले त गोलसमेत गर्न सकेको छैन ।
६ खेल खेल्दा मच्छिन्द्रले ३ मा बराबरी गरेको छ । ३ वटैमा मच्छिन्द्रले गोलरहित बराबरी खेल्यो, बाँकी ३ खेलमा पराजित भयो । लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मर्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ, फ्रेन्ड्स, संकटा, मच्छिन्द्र, सरस्वती युथ, च्यासल युथ, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पाले सहभागिता जनाएका छन् ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख र तेस्रो हुनेले रु २५ लाख पाउनेछन् । लिगको चौंथो टोलीले रु १५ लाख, पाँचौंले रु ७ लाख र छैटौंले रु ५ लाख पाउनेछन् । फेयर प्ले टिमले रु १ लाख पाउने छन् ।
हरेक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दी म्याच खेलाडीलाई रु १० हजार दिनेछ । लिग विजेता टोलीले एसियन कप फुटबल (एएफसी) मा सहभागिता जनाउन पाउने लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।
हालसम्मको अंक तालिका