समाचारशुक्रवार, मंसिर २१, २०७५

बन्द गोदाममा बाँदरको राज

कमल रिमाल

विराटनगरबाट नजिकैको जंगल चारकोशे झाडी मात्र हो, जुन २८ किलोमिटर टाढा सुनसरीको तरहरामा छ। वन नभएकाले बाँदर शहर पस्‍ने सम्भावना कमै छ। तर, विराटनगर महानगरभित्र बाँदरको एक हुल बस्‍छ, जसको जानकारी कमै नगरवासीलाई छ।

नगरको दक्षिणी क्षेत्र मिल्स एरियास्‍थित रघुपति जुटमिलभित्र बाँदरको संख्या बढ्दो क्रममा छ। ३ ठूला भाले र २५ जति बच्चा गरेर करीब ४० को संख्यामा छन्, बाँदर। “बन्‍द रहेको गोदाम २०७२ सालमा सफाइ गर्ने क्रममा ५-६ वटा बाँदर देखिए,” जुट मिलका प्रशासन प्रबन्‍धक श्‍यामकुमार आचार्य भन्‍छन्, “तीन वर्षमै ठूलो समूह भइसक्यो।”

मिलको परिसरमै रहने भएकाले त्यहाँ कार्यरत मजदूरबाहेक स्‍थानीयवासीलाई यसको पत्तो छैन। मिलबाट पश्‍चिमतर्फ भारतको जोगवनी बजार पर्छ। जुटमिलका बाँदर आहाराका लागि त्यहाँसम्म पुग्छन्। “जोगवनी बजारमा बेच्न राखेका फल खाएर आउँछन्, मिलभित्रका क्वार्टरमा भने बिज्याईं गर्छन्,” आचार्य भन्‍छन्।

उनका अनुसार केही वर्षअघि भारतीय ट्रकका चालकले पाल्तु बाँदर ल्याएका थिए। विराटनगर भन्‍सार कार्यालयको पार्किङ स्‍थलबाट बाँदर उम्किएर नजिकैको रघुपति जुटमिलमा पस्‍यो। एक्लै रहेको भालेले त्यसरी नै भागेको पोथी फेला पार्‍यो। तिनका सन्‍तान बढेर ठूलो झुण्ड तयार भएको हो।

तीन वर्षमा १२ जनामाथि आक्रमण
बाँदरको झुण्डका कारण जुटमिलका मजदूर र कर्मचारी हैरान छन्। मिलमा कार्यरत १२ जनालाई बाँदरले टोकिसकेका छन्। देब्रे खुट्टामा बाँदरले टोकेको चोट देखाउँदै सुपरभाइजर अमित सिंह भन्‍छन्, “३० कात्तिकमा १० वटा जतिले घेरे, ठूलो भालेले टोक्यो।” उनले कोशी अञ्चल अस्‍पताल पुगेर रेबिजका ४ वटा सुई लगाए।

खुट्टामा बाँदरले टोकेको चोट देखाउँदै रघुपति जुटमिलका सुपरभाइजर अमित सिंह। तस्‍वीरहरू- कमल रिमाल

मिलका इन्‍जिनियर विश्‍वनाथ माइतीलाई १२ मंसीरमा बाँदरको समूहले घेरेर ढाडमा नंग्रयायो। रेबिजका २ वटा सुई लगाएपछि ढुक्क भएको उनी बताउँछन्।

क्वार्टरमा बस्‍ने नन्‍नी चौधरी (९), मिस्‍त्री रामजी शर्मा, मजदूर कुमार थापालगायत बाँदरको आक्रमणमा परिसकेका छन्। मिलका मजदूर राजु श्रेष्‍ठका अनुसार बाँदर अधिकांश समय तयारी बोरा राख्ने गोदाममा बस्‍छन्। तयारी बोरा भारत पठाउन बिलसहित बन्‍डल बनाएर राखिन्‍छ। ती बन्‍डल बाँदरले च्यातिदिन्‍छन्।

क्वार्टरमा पसेर दाल, चामल, चिनी खाने, पोख्ने गर्छन्। धाराका टुटी र पाइपहरू भाँचिदिन्‍छन्। “केटाकेटीका लुगा लिएर भाग्छन्, खानेकुरा पोखेर हैरान छ,” श्रेष्‍ठ भन्‍छन्।

आक्रमण बढेपछि उद्योगले बाँदरलाई त्रसित बनाउन साइरन जडान पनि नगरेको होइन। तर, बाँदरले तार चुँडाएर साइरन नै भत्काइदिए।

मिलभित्रको क्यान्‍टिनका सञ्चालक सुनिलकुमार साह केही दिनअघि साँझ ७ बजे शौचालय गएका थिए। निस्‍किने बेलामा ढोकामा बाँदर बसेको थियो। साथमा मोबाइल नभएकाले अरूलाई फोन गर्न नपाउँदा उनी राति ११ बजेसम्म शौचालयमै थुनिए। अर्का क्यान्‍टिन सञ्चालक अजय चौधरीले पनि बाँदरको टोकाइका कारण रेबिजको सुई लगाइसकेका छन्।

“जिस्‍क्याउँदा, साथमा भएको बच्चालाई खतरा हुने देखे र संसर्गका बेला बाँदर आक्रामक हुन्‍छन्,” वन्‍यजन्‍तुका जानकार तथा प्रदेश-१ को वन मन्‍त्रालयका उपसचिव अनिरुद्रकुमार साह भन्‍छन्।

हटाइदिन आग्रह
मजदूर र कर्मचारीलाई आक्रमण गर्दा वास्‍ता नगरेको उद्योग प्रशासनले पछिल्लो पटक इन्‍जिनियर माइती नै आक्रमणमा परेपछि भने बाँदर हटाइदिन मन्‍त्रालयसँग आग्रह गरेको छ। गोल्छा अर्गनाइजेशनका निर्देशक सोमनाथ अधिकारीका अनुसार प्रदेश-१ को वन मन्‍त्रालयलाई बाँदर हटाउन आग्रह गरिएको छ।

मिल व्यवस्‍थापक आचार्यले १३ मंसीरमा जिल्ला वन कार्यालय मोरङलाई आफ्नो उद्योगको बाँदरको हुल व्यवस्‍थापन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन्। “व्यक्तिको जिउधनको क्षति हुनबाट रोक्न यथाशीघ्र बाँदरलाई स्‍थानान्‍तरण गर्ने व्यवस्‍था मिलाइदिनु हुन अनुरोध छ,” पत्रमा उल्लेख छ।

बाँदर हटाउने विज्ञता, जनशक्ति र सामग्री नभएकाले समस्‍या भएको जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे बताउँछन्। भन्छन्, “बरु चितुवालाई पासो थापेर समाउन सकिन्‍छ, बाँदरलाई अप्ठ्यारो छ।”

“वन्‍यजन्‍तुबाट मानिस र मानिसबाट वन्‍यजन्‍तुलाई क्षति नहोस् भन्‍ने सोच हाम्रो हुन्‍छ,” सहायक वन अधिकृत रामलखन ठाकुर भन्‍छन्, “मार्न पाइँदैन, पक्रेर जंगल या चिडियाखानामा छाड्नुपर्छ।”

विराटनगरबाट करीब ४७ किलोमिटर टाढाको कोशीटप्पु वन्‍यजन्‍तु आरक्षमा बाँदरको संख्या न्‍यून छ। वन कार्यालयले पठायो एवं राष्‍ट्रिय निकुञ्ज तथा वन्‍यजन्‍तु संरक्षण विभागले स्‍वीकृति दियो भने आरक्षमा बाँदर ल्याउन सकिने कोशीटप्पुका सहायक प्रमुख गणेश तिवारी बताउँछन्।

वन कार्यालयले जंगलबाट गाउँ छिरेका वन्‍यजन्‍तु समातेर सामूदायिक वनको जिम्मा लगाउँदै आएको छ। हुचिल, अजिंगर, लाटोकोसेरो, गरुड, बट्टाई, हरिण, चित्तल, नीलगाई समातेर बेलबारीस्‍थित बेतना सीमसार, पथरीस्‍थित हरियाली सीमसार र कोशीटप्पुको जिम्मा लगाइने गरेको छ। वन कार्यालयका अनुसार चैत २०७२ देखि चैत २०७४ सम्ममा मोरङका विभिन्‍न ठाउँमा हरिण, चित्तल र नीलगाई गरी १४ वटा वन्‍यजन्‍तु मृत फेला परेका थिए।

प्रतिकृया दिनुहोस