सन्दकपुर- झुल्केघाम, लेकाली जीवन र चौंरीका बथान (फोटो फिचर)
मिर्मिर उज्यालो हुनुभन्दा एक घण्टा अगावै पूर्वमा लाली चढ्न थाल्छ। क्रमशः डाँडाकाँडामा घामका किरण छरिन थाल्छन्। विस्तारै उत्तरी मोहडातर्फ कञ्चनजंघा र कुम्भकर्ण हिमालका चुचुरा देखिन्छन्।
पाँचथर र इलामसँग भारतको पश्चिम बंगालको सीमा जोडिने सन्दकपुरको बिहानी दृष्य हो यो। अघिल्लो साँझ नै आइपुग्ने पर्यटक सूर्योदयको मनमोहक दृष्य हेर्न यहाँका भ्यु पोइन्टहरूमा सखारै पुगिसकेका हुन्छन्।
३ हजार ६ सय ३६ मिटर उचाइमा अवस्थित सन्दकपुरबाट झुल्केघाम हेर्न इलाम, पाँचथर मात्र होइन, झापा, मोरङ र भारतका विभिन्न ठाउँबाट पनि आन्तरिक-बाह्य पर्यटकको भीड लाग्न थालेको छ। नेपालीका तीन र भारतीयका करीब एक दर्जन होटलमा बास बस्ने गर्छन्, पर्यटकहरू। आसपासका चौंरी गोठ पनि पर्यटकको बास बस्ने थलो बनेका छन्।
सन्दकपुर पुग्न पर्यटकले इलामको जोगमाई र पाँचथरको फालेलुङबाट कच्ची सडकको यात्रा तय गर्नुपर्छ। भारततर्फ ब्रिटिश शासनकै बेला खनिएको ग्राभेल सडक छ। यो चौंरी पालन र दुर्लभ प्रजातिका जडिबुटीको पकेट क्षेत्र पनि हो।
धेरै जाडो नहुने मौसममा यहाँ दैनिक ५ सय जनासम्म पर्यटक आइपुग्ने स्थानीय होटल व्यवसायीहरू बताउँछन्। तीमध्ये अधिकांशले २ देखि ५ दिन बिताउँछन्।
सन्दकपुर आसपासमा चारराते, महलेकोठी, फालोट, तीनसिमाना, जलजले, भैंसे पोखरी, आहालभञ्ज्याङ र गोरुवालेलगायत पर्यटकीय गन्तव्य छन्। सन्दकपुरमाथिको भ्यु पोइन्टबाट नेपालका पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, झापा, मोरङ, सुनसरी, कोशीब्यारेज तथा भारतका पश्चिम बंगाल, सिक्किमलगायत स्थान देखिन्छन्।
राति ६१ किलोमिटर टाढा पर्ने दार्जिलिङको झिलिमिलीले पर्यटकको मन लोभ्याउँछ। यो विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८५ मि) सम्म पुग्ने पदमार्ग पनि हो।
लक्ष्मी गौतम, पाँचथर