आपराधिक पृष्ठभूमिका महन्थ जग्गा कीर्तेमा पक्राउ
जनकपुर मठका महन्थ बैकुण्ठ दास बैष्णव गुठी अधिनस्थ जग्गाको अवैध कारोबारबाट करोडपति भएका छन् । प्रमाण अभाव र रकमको प्रभावमा कानूनबाट बच्दै आएका उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।
बैकुण्ठ दास बैष्णव जनकपुरका लागि चर्चित नाम हो । जनकपुर–८ स्थित रत्नसागर मन्दिरको महन्थ रहेका उनी धार्मिक र आध्यात्मिकभन्दा आपराधिक गतिविधिका कारण समय–समयमा चर्चामा आउने गरेका छन् । रत्नसागर मन्दिरको जग्गा बिक्री गर्दै करोडौं आर्जन गरेका महन्थ बैकुण्ठलाई त्यतिले पनि पुगेन, अनि जनकपुरस्थित जनक हजारी विद्यापीठले भोगचलन गर्दै आएको जग्गासमेत आफ्नो स्वामित्वमा लिए ।
मालपोत र गुठीका कागजातहरू कीर्ते गरी आफ्ना नातेदार अशोक शर्माको नाममा नामसारी गरी उनले बेचविखन गरेको जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको दाबी छ । चौधरीकै दाबी र जाहेरीका आधारमा जिल्ला अदालत धनुषाले बैकुण्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । मालपोत र गुठीका कर्मचारीको संलग्नताबिनै महन्थ बैकुण्ठले सरकारी कागजात कीर्ते गरी जग्गाको स्वामित्व दाबी गरेको पाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जनाए ।
जनकपुर उपमहानगरपालिका–८ स्थित जनक हजारी विद्यापीठले भोगचलन गर्दै आएको २ बिघा ३ कठ्ठा जग्गा कीर्ते गरी महन्थ बैकुण्ठले नातेदार अशोक शर्माको नाममा नामसारी गरेका थिए । विद्यापीठले भोगचलन गर्दै आएको सिट नं १३५४–१४ मा कित्ता नं ६२ को २ कठ्ठा र १५ को कित्ता नं २८ को २ विग्घा ८ कठ्ठा १४ धुर जग्गा महन्थले आफ्नो नाममा गरेका थिए ।
विद्यापीठका प्राचार्य चौधरीले जग्गा कीर्ते र जालसाँजीको मुद्दा दर्ता गरेपछि बैकुण्ठ फरार भएका थिए ।
महन्थ बैकुण्ठको पृष्ठभूमि आपराधिक छ । ११ कात्तिक २०६७ मा भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिशोर झाको हत्यामा उनी नै मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । तर, उक्त मुद्दामा महन्थले जिल्ला अदालत धनुषाबाट सफाइ पाएका छन् । अधिवक्ता विमलकुमार मिश्रका अनुसार उक्त मुद्दा अहिले उच्च अदालत जनकपुरमा विचाराधीन छ । यस्तै, अकुत सम्पत्ती आर्जन गरेको दाबीसहित सम्पत्ती शुद्धीकरण विभागमा समेत उनीविरुद्ध उजुरी परेको छ ।
र्इश्वरचन्द्र झा, जनकपुर