अमेरिकी चुनावी नतिजाले नेपालमा के प्रभाव पर्ला?
रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएपछि नेपालमा केही प्रभाव पर्न सक्ने विज्ञहरुको भनाई छ ।
'चीनीया लगानी नेपाल आउन सक्छ'
रामेश्वर खनाल, पूर्व अर्थसचिव
आप्रवासीको सवालमा ओबामा प्रशासनको नीतिप्रति आफू पूर्णरुपमा असहमत रहेको ट्रम्पले बारम्बर बताउँदै आएका थिए । यसको प्रभाव नदेखिएला भन्न सकिदैन । तर मेक्सिको लगायतका देशका नागरिकको तुलनामा नेपाली र समग्र दक्षिण एसियालीहरु प्रभावित हुँदैनन् । एकातिर उनीहरुलाई अदक्ष कामदारको आवश्यकता छ भने अर्कोतिर एसियालीले अमेरिकनहरुलाई दुःख दिएको पनि छैन । नेपालीहरु पनि अमेरिकामा अनुशासित कामदारमै गनिन्छन् ।
विदेशी लगानी प्रोत्साहित नगर्ने र स्वदेश उत्पादनलाई बढावा दिने नीतिका कारण चीन, कोरिया जस्ता देशले लगानीका लागि वैकल्पिक देश खोज्ने अवस्था आउन सक्छ । जसले त्यस्ता लगानीकर्ताहरु नेपाल जस्ता विकासन्मुख देशतर्फ आकर्षित हुन सक्छन् । तर यसका लागि हामीले शान्ति, सुरक्षा, सुशासनको प्रत्याभूति र लगानीमैत्री वातावरण बनाउन सक्नु पर्दछ ।
'डिभीमा असर पर्छ'
शंकर शर्मा, पूर्व राजदुत तथा अर्थशास्त्री
धेरैको अनुमान विपरीत रिपब्लिकन उम्मेदवार ट्रम्पले जितेपछि सबैले एक किसिमको त्रास महशुस गरेका छन् । खासगरी उनले चुनावी अभियानका क्रममा व्यक्त गरेका उग्र अभिव्यक्तिले यस्तो अवस्थाा सिर्जना गरेको हो । ट्रम्पले आप्रवासीलाई निकाल्छु, अमेरिकनलाई मात्रै नोकरी दिन्छु भनेका थिए । अपराध संलग्न वाहेकलाई त्यहाँबाट सामान्तया अमेकिारबाट डिपोर्ट गरिदैनथ्यो । अब गैरकानुनी रुपमा बसेकालाई निकाल्न सक्छ । डिभीमा असर पर्न सक्छ ।
चुनावी अभियानका क्रममा उनले ह्वाईट सुप्रिमेसीको कुरा पनि गरेका थिए । व्यवहारिक रुपमा भने त्यो सम्भव देख्दिैन । ट्रम्पले भने जस्तो रेडिकल कुरा रिपब्लिकन पार्टीकै धेरै वरिष्ठ नेताहरुले मन पराएका छैनन् । व्यापारको विषयमा अनुदार हुने संकेत देखिएको छ । सिनेट र कँग्रेस दुबैमा बहुमत भएकाले नीतिगत रुपमा केही फरक पर्ने निश्चित छ ।
'भिसामा कडाई हुनसक्छ'
राजन भट्टराई, नेता, नेकपा एमाले
चुनावी नतिजाले अमेरिकाप्रतिको विश्व धारणा नै गलत सावित गरिदिएको छ । लैंगिक समावेशिता, लोकतन्त्र, प्रेस स्वतन्त्रता लगायतका विषयमा उसले यसअघि गर्दै आएको दाबीको उल्टो परिणाम देखियो ।
डोनल्ड ट्रम्पको ह्वाईट हाउस प्रवेशले नेपालमा सिधा असर पर्ने देखिदैन । तर अमेरिका जान चाहने र अमेरिकामा रहेका नेपालीहरु भने यसबाट प्रभावित हुन सक्छन् । निर्वाचनका क्रममा उनले दिएका अभिव्यक्ति सुन्दा अमेरिका प्रवेशको भिसामा कडाई हुने संकेत देखिन्छ । विना कागजात अमेरिकामा रहेकाहरु पनि प्रभावित हुनसक्छन् ।
अमेरिकी सरकारले उपलब्ध गराउँदै आएको हेल्थ केयर सुविधामा नकारात्मक प्रभाव पर्नसक्छ । नेपालमा आउने अनुदान पनि घट्न सक्छ । ट्रम्पले चुनावका बेला गरेका सबै भाषण कार्यान्वयनमा नगए पनि यस्ता निर्णयहरुमा भने उनी हावी हुने निश्चित प्रायः छ ।