यो वर्ष धानको उत्पादन अहिलेसम्मकै धेरै
प्रमुख कृषि बाली धानको उत्पादन गत वर्षभन्दा करीब ६ प्रतिशतले बढेको छ। अहिलेसम्मकै रेकर्ड तोड्दै चालु आर्थिक वर्ष २०७५-०७६ मा कम्तीमा ५४ लाख ४५ हजार मेट्रिक टन धान फलेको कृषि तथा पशुपक्षी मन्त्रालयको अनुमान छ।
यो अहिलेसम्मकै धेरै धान उत्पादन हो। गत आर्थिक वर्षमा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यसअघि सबैभन्दा धेरै आर्थिक वर्ष २०७३-०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो (हे. टेबुल)।
मौसमी अनुकुलता, प्रविधिको प्रयोग एवं रोपाईंको क्षेत्रफल बढेका कारण धान उत्पादन बढेको हो। मन्त्रालयले अन्तिम तथ्यांक भने प्रकाशित गरिसकेको छैन। मन्त्रालयको तथ्यांक शाखाले देशैभरिका कृषि कार्यालयहरूले पठाएको धान उत्पादनको तथ्यांक प्रशोधनको काम गरिरहेको छ।
आगामी साताभित्र धान उत्पादनको अन्तिम तथ्यांक सार्वजनिक गर्ने तयारी छ। नेपाल राष्ट्र ब्यांकको तथ्यांक विभागका प्रतिनिधि रहने समितिले धान उत्पादनको अन्तिम आँकडा निकाल्छ। अन्तिम तथ्यांक आइनसके पनि धान उत्पादनमा यो वर्ष रेकर्ड कायम हुने पक्का रहेको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए। धानको उत्पादन कम्तीमा ५५ लाख मेट्रिक टन हुने उनको अनुमान छ।
यसअघि, यस वर्ष करीब १० प्रतिशतसम्म उत्पादन बढ्ने आकलन गरिएको थियो। समयमै पर्याप्त पानी परेका कारण विगतभन्दा यस वर्ष रोपाईंको क्षेत्रफल बढेको प्रवक्ता सुवेदीले बताए। तर, धानमा फूल फुल्ने र बाला लाग्ने बेला पर्याप्त पानी नपरेकाले शुरुमा अपेक्षा गरिएजति धान फलेन।
धेरै ठाउँमा धानमा भुस लागेको एवं भित्र्याउने बेलासम्मका विभिन्न कारणले भएको क्षतिलाई समेत गणना गर्दा अपेक्षाअनुसार उत्पादन नभएको एक अधिकारीले बताए। सरकारी अधिकारीहरूले यस वर्ष ५८ लाख मेट्रिक टनसम्म धान फल्ने बताउँदै आएका थिए।
प्रमुख कृषि उपज धानको उत्पादन बढ्नु भनेको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि सकारात्मक योगदान पुग्नु हो। धानको उत्पादन वृद्धिले यस वर्षको जीडीपीको वृद्धिमा करीब ०.४ प्रतिशतसम्मको योगदान पुग्ने अनुमान छ।
नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान २७.५९ प्रतिशतमा ओर्लिएको छ। कुल कृषिको गार्हस्थ उत्पादनमध्ये धान बालीको मात्रै भूमिका २१ प्रतिशत हाराहारीमा छ। सरकारले यस वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
तीन महिनामै रु. ७ अर्ब ६४ करोडको चामल आयात
नेपालमा पछिल्ला वर्षहरूमा चामलको आयात बढेको बढ्यै छ। गत आर्थिक वर्ष २०७४-०७५ मा करीब रु. २८ अर्ब ९० करोडको चामल आयात भएको थियो। त्यसभन्दा अघिल्लो वर्ष २०७३-०७४ मा रु. २३ अर्ब ६० करोडको चामल आयात भएको थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोजसम्म) मा रु. ७ अर्ब ६४ करोडको चामल आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४२.२ प्रतिशत धेरै हो।
धानको उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारले विशेष कृषि कार्यक्रमहरू अगाडि सारेको थियो। बृहत्तर धान उत्पादन कार्यक्रम, मसिनो र बास्नादार धान उत्पादन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाजस्ता कार्यक्रमबाट उपलब्धी भने देखिएको छैन।
बरु, यसबीचमा चामलको उपभोग र माग आकासिएर वर्षेनी रु. २९ अर्ब हाराहारीमा चामल आयात हुन थालिसकेको छ। आकाशे पानी अनुकुल रहेको वर्ष धान उत्पादन बढ्छ नत्र घट्ने गरेको छ।
सरकार र गैरसरकारी संस्थाहरूले धानसहितका कृषि उत्पादन बढाउन मल, बीउ र प्रविधिमा ठूलो रकम खन्याइरहेका छन्। तर, कृषि उत्पादकत्वमा नेपालले फड्को मार्न सकेको छैन।
सन् १९९० मा प्रतिहेक्टर २ हजार ४०० किलो रहेको धानको उत्पादकत्व करीब तीन दशकपछि बल्लतल्ल १ हजार किलो प्रतिहेक्टरले बढेको छ। जबकि, अन्य मुलुकले धानको उत्पादनकत्वमा फड्को मारिसकेका छन्। सन् १९७० मा प्रतिहेक्टर १.७ टन रहेको बंगलादेशको धानको उत्पादकत्व बढेर ४.५ टन प्रतिहेक्टर पुगेको छ। छिमेकी मुलुक चीनको त प्रतिहेक्टर ६.५ मेट्रिक टन छ।