विद्युतीय बस सञ्चालनका लागि प्रदेश– ३ सरकारले साझा यातायातको रु. ३० करोड बराबरको शेयर खरिद गर्ने
साझा यातायातले प्रदेश–३ सरकारसँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।
सार्वजनिक यातायातलाई सहज र सुलभ बनाउन प्रयासरत साझा यातायातले काठमाडौं उपत्यकाभित्र, प्रदेश– ३ भित्र र अन्तरप्रदेश बस सञ्चालनका लागि गरेको प्रस्ताव अनुसार विद्युतीय बस सञ्चालनको निर्णय गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए ।
बस सञ्चालनका लागि प्रदेश– ३ ले साझा यातायात सहकारी लि. को रु. ३० करोड बराबरको शेयर खरिद गर्नेछ भने काठमाडौं महानगरपालिकाले रु. १० करोड बराबरको थप शेयर खरिद गर्ने छ ।
“बस खरिद र विभिन्न स्थानमा चार्जिङ स्टेशनको निर्माण गरी २०७५ सालभित्रै प्रदेश ३ मा विद्युतीय बस सञ्चालन गर्ने योजनामा छौं,” मुख्यमन्त्री पौडेलले भने, “उपयुक्त सडक सुविधा नभएका कारण असम्भव हुने अवस्थामा बाहेक प्रदेशका सबै जिल्लाबाट काठमाडौंसम्म विद्युतीय बस सञ्चालन हुनेछन्, त्यस्तै प्रदेश–२ का जनकपुर र वीरगञ्जसम्म पनि बस सञ्चालनको योजना छ ।”
यद्यपि कति बस खरिद गर्ने, चार्जिङ स्टेशन कहाँ कहाँ राख्ने जस्ता विषयमा विस्तृत निर्णय भइनसकेको पनि उनले बताए । शुरुमा रु. ३० करोड लगानी गरिए पनि योजना सफल भएमा सार्वजनिक यातायातलाई सहज बनाउन थप लगानी गर्न सकिने मुख्यमन्त्री पौडेलको भनाई छ ।
साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले साझा यातायात सहकारीमा संघीय सरकार र काठमाडौं उपत्यकाका स्थानीय सरकारहरुको स्वामित्व यसअघि देखि नै रहे पनि अब प्रदेश सरकारको स्वामित्व पनि थपिएको बताए ।