नेप्सेमा पहिरो, २२.८० अंकले घट्यो परिसूचक
शेयर बजार परिसूचक नेप्से बुधबार (आज) २२.८० अंकले ओरालो लागेको छ। ब्यांकको ब्याजदर महँगो हुन नरोकिएर लगानीकर्ताहरू निराश बन्दा नेप्से परिसूचक घटेर १११८.१९ विन्दुमा आइपुगेको हो।
१९ मंसीरमा ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९१ अंकले घटेको छ। बुधवार कारोबार भएका ब्यांकिङ, बीमासहितका सबै उपसमूह ओरालो लागेका छन्। सबैभन्दा धेरै राधी विद्युत कम्पनीका लगानीकर्ताले ६.८९ प्रतिशत गुमाएका छन्।
यस्तै, हिमालयन डिस्टिलरीको शेयर मूल्य ५.७२ प्रतिशतले घटेको छ। हाथवे फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.७७ प्रतिशत कमाएका छन्।
बुधवार रु. ३७ करोड ७२ लाख मूल्य बराबरका ११ लाख ६८ हजार कित्ता शेयरको किनबेच भएको छ। ब्यांकमा लगानीयोग्य पूँजी अभावका कारण बढेको ब्याजदरले गर्दा लगानीकर्ताको मनोबल थप खस्किएको विश्लेषकहरूको भनाइ छ। यसअघि साताको दुई दिन सोमवार र मंगलवार नेप्से केही बढे पनि त्यो वृद्धि बुधवार टिक्न सकेन।