मृत महिलाको पाठेघर प्रत्यारोपणबाट जन्मियो बच्चा
ब्राजिलमा मृत्यु भइसकेकी महिलाको पाठेघर प्रत्यारोपण गरेर ३२ वर्षीया युवतीले स्वस्थ बालिकाको जन्म दिएकी छन् ।
सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा पाठेघर प्रत्यारोपण गर्न १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो । त्यसको झण्डै ६ हप्तापछि उनको महिनावारी शुरू भयो र सात महिनापछि ती युवती गर्भवती भइन् ।
पाठेघर प्रत्यारोपण गरिएकी महिला चाहिँ प्रत्येक ४५०० महिलामा एकजनामा देखिने एमआरएचके सिन्ड्रोमबाट ग्रस्त थिइन् । त्यस्तो अवस्थामा महिलाको योनी र पाठेघर राम्रोसँग विकसित भएको हुँदैन ।
उनको डिम्बाशयमा केही समस्या थिएन । चिकित्सकहरूले उनको डिम्ब निकालेर पुरुषको वीर्यसँग गर्भाधान गराई चिस्यानमा राखेका थिए ।
डा. डेनी आइजेनबर्गले भने, “जीवित दाताहरूबाट गरिएका शुरूआती पाठेघर प्रत्यारोपणहरू चिकित्सा क्षेत्रका लागि कोसेढुङ्गा थिए । यस्ता प्रत्यारोपणहरूले उपयुक्त दाताहरूसँगको पहुँच तथा आवश्यक स्वास्थ्य सुविधाहरू प्रदान गर्दै बाँझोपन भएका धेरै महिलाहरूलाई आमा बन्न सक्ने सम्भावनाहरूको सिर्जना गरिदिएको छ।”
सन् २०१६ मा ब्रेन ह्यामरेज भएर मृत्यु भएकी महिलाको शरीरबाट निकालिएको पाठेघर १० घन्टा लामो अपरेशन गरेर युवतीको पेटमा राखिएको थियो ।
गत वर्ष डिसेम्बर १५ तारिखमा ती युवतीले ६ पाउन्ड तौल भएकी स्वस्थ बच्चा जन्माएको बीबीसीले जनाएको छ ।
बच्चा जन्मिएसँगै उनको शरीरमा प्रत्यारोपण गरिएको पाठेघर पनि निकालिएको छ ।
यसअघि अमेरिका, टर्की र चेक रिपब्लिकमा मृतकको शरीरबाट निकालिएका १० वटा पाठेघर प्रत्यारोपण भएपनि त्यसबाट बच्चा जन्मन सकेको थिएन ।
जिवित व्यक्तिको पाठेघर निकालेर प्रत्यारोपण भएको पाठेघरबाट भने सन् २०१३ मा बच्चा जन्मिएको थियो।