खेल संघको विवाद समाधान गर्न समिति
युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल संघमा देखिएको विवाद समाधान गर्न राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ।
१७ मंसीरमा युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिस्तरीय निर्णयबाट समिति गठन गरेका हुन्। समितिमा मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य छन्।
आठौं राष्ट्रिय खेलकूद तथा १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटमा समेत एउटै खेलका दुई संघ हुँदा समस्या परेकाले मन्त्रालयले विवाद समाधानको प्रयास गरेको हो। समितिलार्इ दुई संघबीच वार्ता र समन्वयको जिम्मेवारी दिइएको छ।
अहिले कराँते, जिम्न्यास्टिक, तेक्वान्दोलगायत खेल संघमा विवाद छ। समितिलाई एक महीनाभित्र ती संघका विवाद समाधान गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। मन्त्रालयबाट अधिकार पाएपछि उपाध्यक्ष तिम्सिनाले अहिले सात मुख्य संघमा विवाद देखिएको र त्यसको समाधान गर्ने प्रतिबद्धता जनाए। रासस