उखु उत्पादक र चिनी उद्योगीबीचको वार्ता निष्कर्षविहीन
उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उखुको मूल्यलाई लिएर महोत्तरीको बर्दीबासमा १८ मंसीरमा भएको वार्ता निष्कर्षविहीन बनेको छ ।
उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीको नेतृत्वमा रहेको वार्ता टोलीले चालु आर्थिक वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल रु. ५४५ प्रस्ताव गरेको थियो ।
एभरेष्ट चिनी उद्योगका मुन्नाबाबु, इन्दुशंकर चिनी उद्योगका राजेश केडिया, रिलायन्स चिनी उद्योगका राजकुमार अग्रवाल, श्रीराम सुगर मिल्सका हितेश गोल्छा र विशाल गोल्छा वार्तामा सहभागी थिए ।
गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु. ५३६ कायम भएको थियो । तर, चिनी उत्पादकहरूले उखु उत्पादकको प्रस्तावमा केही पनि नबोलेकाले वार्ता अगाडि बढ्नै नपाई स्थगित भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले जानकारी दिए ।
चिनी उद्योगहरूले उखुको मूल्य नतोक्दा एकदमै कम मूल्यमा सख्खर उद्योगहरूलाई चिनी बिक्री गर्न किसान बाध्य छन् । स्थानीयस्तरमा खुलेका सख्खर उद्योगहरूले प्रतिक्विन्टल रु. २७५ देखि ३०० सम्ममा उखु खरीद गरिरहेका छन् ।
सञ्जय मित्र, रौतहट