पर्यटकीय साइनो बिनाको सम्मेलन
नेपालको पर्यटकीय उद्योगमा टेवा पुग्ने दाबीसहित काठमाडौंमा १४ देखि १७ मंसीरसम्म एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना भयो । तर, सम्मेलनमा विशिष्ट पाहुना आएका अधिकांश देशसँग नेपालको कुनै पर्यटकीय साइनो नै नरहेको पाइएको छ ।
सम्मेलनमा विशिष्ट पाहुना सहभागी भएका १५ मध्ये ११ देशबाट साढे एक वर्षयता नेपाल आउने पर्यटकको संख्या शून्य रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ ।
सरकार तथा राष्ट्र प्रमुखको प्रतिनिधित्व रहेका देशहरू कम्बोडिया, नाउरु, समाओ, टुभालु, किरिवाती, पलाउ, फिजी, मार्सल आइल्याण्ड, टोङ्ग र भानुआटुबाट सन् २०१७ र यो वर्षको शुरुवाती १० महीनामा पर्यटक नआएको विभागको तथ्यांक छ ।
विभागका अनुसार, सन् २०१७ मा ९ लाख ४७ हजार ३४१ विदेशीहरू पर्यटकका रुपमा नेपाल आएका थिए । विभागले दशभन्दा कम पर्यटक आएको मुलुकको तथ्यांक भने अन्य मुलुकको सूचीमा एकमुष्ठ राखेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारी कामकाज छोडेर सम्मेलनमा सहभागी भएका थिए । आयोजक युनिभर्सल पिस फेडरेसनका महासचिव विनोद डाँगीका अनुसार, नेपालसहित ३० देशका ४ हजार ५०० प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा करीब २० करोड खर्च भएको छ ।
सम्मेलनको शुरुको दिन उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न जोर–बिजोर प्रणाली लागू गरिए पनि व्यापक विरोध भएपछि दोस्रो दिनदेखि हटाइएको थियो ।
सम्मेलनमा शान्ति, विकास, सुशासन, सांसद्हरूको भूमिका, आस्थामा आधारित संगठन, नागरिक समाजको भूमिका, जलवायू परिवर्तन लगायतका विषयमा छलफल भएको आयोजकले जनाएको छ ।