टिप्पणीबुधवार, मंसिर १९, २०७५

कहिले खोतल्ने अर्बौंको ढुकुटी

विज्ञानबाबु रेग्मी

दुई छिमेकी मुलुकमा गरीबीको रेखाबाट माथि उठेको ठूलो जनसंख्या घुमघाममा अभ्यस्त बनिरहँदा संसारमै अनुपम हाम्रा पर्यटकीय गन्तव्यको खोजी, विकास र प्रवर्द्धनमा ढिलाइ गर्नुहुन्न ।

सन् २०१७ को मार्चमा मध्य अमेरिकी मुलुक कोस्टारिका घुम्ने अवसर जु‍र्‍‍यो । राजधानी सान होजेबाट पूर्वमा पर्ने टुरिअल्बामा त्यहींका स्थानीय परिवारको घरमा एकसाता आतिथ्य पाउँदा मिजासिलो समाज बुझ्ने, र्‍याफ्टिङ, हाइकिङ र ज्वालामुखीको दृश्यावलोकन गर्ने मौका समेत मिल्यो ।

जैविक विविधताले भरिपूर्ण सानो मुलुक कोस्टारिकाको पर्यटनमा यिनै तीन कुरा सबभन्दा धेरै बिकाउ रहेछन् । वार्षिक करीब ३० लाख पर्यटक पुग्ने कोस्टारिका स्वयम्मा सुन्दर भए पनि हिमाल हेर्दै (पोखरामा) हुर्केको मलाई प्राकृतिक भू–बनोटका दृष्टिले नेपाल जति अनुपम लागेन ।

तर, नेपालको अद्वितीय प्राकृतिक सुन्दरता बिकाउन हामीलाई धौ–धौ छ । वार्षिक अन्तर्राष्ट्रिय पर्यटक आगमन १० लाखभन्दा कम छ । नेपाल कहाँ छ, ऊसँग के के कुरा छन् भन्ने सन्देश अझैसम्म संसारभर पुग्नसकेको छैन । आर्थिक समृद्धिको लक्ष्यमा अघि बढिरहँदा सरकार र निजी क्षेत्र दुवैले यसलाई प्राथमिकतामा राख्ने हो भने पर्यटन विकासको प्रशस्त गुञ्जायस छ । ‘भिजिट नेपाल–२०२०’ ले त्यो अवसर जुराइदिएको पनि छ ।

भिजन–२०२०ः सम्भावना र चुनौती
पर्यटनको इतिहास १३औं शताब्दीबाट शुरू भएको मानिन्छ । त्यसबेला मार्कोपोलो फिरन्ते व्यापारी बनेर विभिन्न देश–महादेश पुगेका थिए । आधुनिक पर्यटन युगको शुरूआत भने सन् १९४० पछि मात्र भयो । त्यही सेरोफेरोमा नेपालमा पनि हिमाल आरोहणसँगै यसको शुरूआत भयो । आज पर्यटनको दायरा फराकिलो बन्ने क्रममा छ ।

यसको अर्को पाटो पनि छ । नेपाल भ्रमण वर्ष–१९९८ लाई हेरौं । कार्यक्रम घोषणाले मात्र पर्यटन वृद्धिमा सहयोग नपुर्‍याउने जल्दोबल्दो उदाहरण हो, ‘नेपाल भ्रमण वर्ष–१९९८’ । सरकारदेखि समाजका विभिन्न तह र तप्काको भूमिका र कार्ययोजना स्पष्ट नहुँदासम्म ठोस प्रतिबद्धताहरू अघि बढ्न सक्दैनन् ।

‘भिजन–२०२०’ का रूपमा प्रचारित नेपाल भ्रमण वर्ष सन् २०२० अन्तर्गत पर्यटक आगमन २० लाख पुर्‍याउने र पर्यटन क्षेत्रको प्रत्यक्ष रोजगारी १० लाख नघाउने लक्ष्य सरकारले लिएको छ । यो लक्ष्य आफैंमा असम्भव नभए पनि चुनौतीरहित छैन ।

पर्यटन विकासमा पहिलो भूमिका नियामक निकायको हुन्छ । पर्यटन पूर्वाधार विकासमा सरकारको भूमिका प्रमुख भए पनि पर्यटन व्यवसायमा अनावश्यक हस्तक्षेप नगरी सहज वातावरण निर्माण सबभन्दा धेरै अपेक्षित हुन्छ । खुला अर्थ–व्यवस्थामा त झ्न् राज्यले स्वच्छ प्रतिस्पर्धा बढाउन आफूलाई नियामकको भूमिकामा सीमित राख्नुपर्छ ।

दोस्रो र सबभन्दा महत्वपूर्ण भूमिका निजी क्षेत्रकै हुन्छ । स्रोत र साधनको उचित परिचालनमार्फत पर्यटन व्यवसायलाई उकास्ने जिम्मेवारीमा रहेको निजी क्षेत्रले यो नाफामुखी व्यवसाय मात्र नभएको हेक्का राख्नुपर्छ । सेवामुखी यो व्यवसायमा दीर्घकालीन विकासको सम्भावना निहित हुन्छ । निजी क्षेत्रको कार्यकुशलतासँगै सरकारी निकायको प्रभावकारी नियमनले यसलाई आर्थिक विकासको मेरुदण्ड बनाउन सक्छ ।

तेस्रो हो– पर्यटनको उत्थान र प्रवद्र्धन । हामीले दिने सेवा, सहयोग र आदरमा पर्यटकको सन्तुष्टि निर्भर हुन्छ । यसले नै हाम्रो पर्यटन संस्कृति झल्काउँछ । चौथो चाहिं प्रचारप्रसार हो, जसमा सरकारदेखि निजी क्षेत्र, स्थानीय समुदाय र नेपाल पर्यटन बोर्ड जस्ता निकाय सबैको जिम्मेवारी उत्तिकै हुन्छ ।

सरकारले विभिन्न मुलुकहरूमा कार्यरत आफ्ना राजदूत र प्रतिनिधिहरूको कूटनीतिक परिचालनमार्फत आफ्नो देशको प्रचार गर्न सक्छ । निजी क्षेत्रले पनि सञ्चारका बहुपयोगी साधन र प्रविधिमा आइरहेको परिवर्तनको सदुपयोग गर्दै सामाजिक सञ्जाल आदिको सहयोगमा पर्यटन गन्तव्य र उपलब्ध सेवाको प्रचारप्रसार गर्न सक्छन् ।

स्थानीय बासिन्दाले पर्यटकलाई आतिथ्य र सत्कारमार्फत बेग्लै माहोल बनाउन सक्छन् । ‘माउथ टु माउथ मार्केटिङ’ मा स्थानीय बासिन्दाको व्यवहार जहाँ पनि अहं मानिन्छ ।

तर, लक्षित बजार राम्रोसँग नबुझेसम्म पर्यटन क्षेत्रको तीव्र विकास सम्भव हुँदैन । कुनै विशेष क्षेत्र वा देश लक्षित केन्द्रीकृत मार्केटिङसँगै उदीयमान क्षेत्र लक्षित प्रचारमा विविधीकरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ । धेरै खर्च गर्ने, ठूलो संख्यामा आउने, फर्केर आउने वा अरूलाई पठाउन सक्ने पर्यटक आर्थिक हिसाबले महत्वपूर्ण हुन्छन् । गएको दशकमा अन्तर्राष्ट्रिय पर्यटनका ‘हटस्पट’ बनेका थाइल्याण्ड, मलेशिया, इन्डोनेसिया जस्ता दक्षिणपूर्वी एशियाली मुलुकले पर्यटनमा गरेको प्रगति हाम्रा निम्ति गतिलो पाठ हुन सक्छ ।

छिमेकका अपार सम्भावना
सन् २००० पछि चीनमा करीब ५० करोड जनसंख्या गरीबीको रेखाबाट माथि उठेको छ । बिस्तारै आधुनिकीकरण र विश्वव्यापीकरणसँग जोडिन पुगेको मध्यम वर्गीय यो समूहले आधारभूत आवश्यकता परिपूर्तिसँगै मनोरञ्जन र घुमघाममा खर्च गर्ने क्षमता बनाएको छ ।

भारतमा पनि पछिल्लो दशकमा भएको स्थिर विकासले ठूलो संख्या गरीबीबाट बाहिर निस्केसँगै विशेषगरी युवा र वयस्कहरूमाझ् घुमफिर संस्कृति विकास भएको छ । यसले नै पूर्वी तथा दक्षिण पूर्वी एशियाली मुलुकको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको हो ।

जस्तो कि, सन् २००० मा १६ हजार ३०० रहेको इन्डोनेसिया पुग्ने चिनियाँ पर्यटकको संख्या २०१७ मा २० लाख पुगेको छ । त्यसैगरी सन् २००० मा ८० हजार रहेको भारतीय पर्यटकको संख्या २०१७ मा पाँच लाख पुगेको छ । सन् २००६ मा थाइल्याण्ड घुम्न जाने चिनियाँको संख्या करीब ९ लाख थियो । २०१७ मा त्यो संख्या ९० लाख पुगेको छ ।

यही अवधिमा भारतीय पर्यटकको संख्या पाँच लाखबाट १३ लाख पुगेको छ । पछिल्ला वर्षहरूमा ती देशमा युरोपेली र अमेरिकी पर्यटकको संख्या पनि बढेको छ, तर भारतीय र चिनियाँ पर्यटकको तुलनामा त्यो वृद्धिदर निकै कम छ ।

पर्यटन विकासमा हाम्रो सबभन्दा ठूलो सम्भावना छिमेकमै रहेको यसले देखाउँछ । सन् २०१७ मा एक लाख ६० हजार भारतीय र एक लाख पाँच हजार चिनियाँ पर्यटक नेपाल आए ।

२०१८ को पहिलो दश महीनामै दुवै देशबाट गएको वर्षभन्दा धेरै पर्यटक भित्रिइसकेका छन् । हाम्रो पर्यटन विकासका मेरुदण्ड मुख्यतः यिनै दुई देशका पर्यटक हुनेछन् । नेपालमा बढीजसो धार्मिक र ‘एड्भेन्चर्स’ पर्यटक आउने हुँदा आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिनैपर्छ । आउँदो वर्ष सञ्चालनमा आउने भनिएको भैरहवा विमानस्थलको निर्माण समयमै सम्पन्न भए लुम्बिनी क्षेत्रको पर्यटन विकासमा ठूलो सघाउ पुग्नेछ । त्यसैगरी, पोखरा विमानस्थल सञ्चालनमा आएपछि पर्यटनमा अर्को खुट्किलो थपिनेछ ।

कोस्टारिकामा देशका कुनाकाप्चासम्म पर्यटक पुग्न सक्ने आकर्षक गन्तव्य बनेका छन् । नेपालको पर्यटन भने ६ दशकभन्दा लामो अवधिसम्म पनि काठमाडौंको ३००–४०० किलोमिटर रेडियसमै सीमित छ ।

हामीले पूर्वदेखि पश्चिमसम्म नयाँ गन्तव्यको खोजी, विकास र प्रवद्र्धनका लागि आन्तरिक पर्यटनमा जोड दिनु अपरिहार्य छ । पछिल्लो समय मुस्ताङ र रारादेखि जनकपुर र सिन्धुलीगढीसम्मको ‘क्रेज’ बढेको छ । तर, सिर्जनशील युवा जमातले खोज्दै जाने नयाँ गन्तव्यहरूमा देशको अर्बौंको ढुकुटी लुकेर बसेको छ ।

प्रतिकृया दिनुहोस