‘ए’ डिभिजन लिग- एपीएफले एनआरटीलाई हरायो
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत १८ मंसीरमा भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफले एनआरटीलाई २-१ गोलअन्तरले पराजित गरेको हो। जारी प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो। यस जितसँगै एपीएफले सात अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ।
यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपीएफले लिगमा एक मात्र जित दर्ता गरेको थियो भने एकमा बराबरी र तीन खेलमा पराजित भएको थियो। एपीएफको जितमा युवराज लामा र सुदीप शिखरकारले १-१ गोल गरे। युवराजले खेलको पहिलो हाफमा एक गोल गरे भने सुदीपले दोस्रो हाफमा गोल गरे।
खेल शुरुवातीको पाँचौं मिनटमा युवराजले गोल गर्दै एपीएफलाई पहिलो अग्रता दिलाए। उनले गोल गरेको १० मिनट पनि बित्न नपाउँदै एनआरटीका राजेश परियारले एक गोल फर्काए। तर, एनआरटीले १-१ गोलको बराबरीलाई कायम राख्न सकेन। ७३ औं मिनटमा सुदिपले एक गोल थप्दै एपीएफको विजय सुनिश्चित गरे।
लिगमा एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन। लिगको पहिलो खेलमा एनआरटीले विभागीय टोली आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरे पनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अंकका साथ लिगको पुछारमा छ।
अंक तालिकामा मनाङ-मर्स्याङ्दी क्लब लिगको पहिलो स्थानमा छ। त्रिभुवन आर्मी क्लब १३ अंकका साथ दोस्रो तथा १२ अंक जोडेको थ्रिस्टार क्लब तेस्रो स्थानमा छन्। रासस