वर्ष ७, कमाइ २२ मिलियन
सात सालको एउटा बच्चाले कति कमाउन सक्ला? तपाईं अचम्म मान्दै भन्नुहोला, यति कम उमेरको बच्चाले काम गर्छ र! तर, अमेरिकाका ७ वर्षीय रेयानको कुरा अर्कै छ। उनी हरेक साता युट्युबमा खेलौनाको समीक्षा गर्छन् र यसवापत उनका बुवा-आमाले भन्दा राम्रो आम्दानी गरिरहेका छन्।
रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए, जुन अहिले बढेर २२ मिलियन भइसकेको छ। नेपाली मुद्रामा यो राशि करीब रु.साढे २ अर्ब हुन आउँछ।
युट्युबमा रेयानको टोइज रिभ्यू र फेमिली रिभ्यू नामका दुई वटा च्यानल छन्। टोइज रिभ्यूमा उनी आफूजस्तै बालबालिकाका लागि विभिन्न किसिमका खेलौनाहरूको रिभ्यू गर्छन्। अर्को च्यानलमा भने उनका जुम्ल्याहा बहिनीहरू एमा र केट तथा आमाबाबुका साथमा दिनचर्या, बिदा मनाएका कार्यक्रमलगायतका भ्लगहरू राखिएको छ।
उनको भिडियो करोडौंले हेर्छन्। एउटा भिडियो ८० करोडभन्दा बढी पटक हेरिएको छ।
सेलिब्रिटीको सूचीमा
फोर्ब्स म्यागेजिनका अनुसार रेयान १ जून २०१८ सम्म एक वर्षमा २२ मिलियन डलर कमाउँदै यस वर्ष सबैभन्दा बढी कमाउने युट्युब स्टार बने।
उनको मुख्य च्यानल टोइज रिभ्यू मार्च २०१५ मा शुरु भएको हो, जसका भिडियोहरू २५ अर्बभन्दा बढी पटक हेरिएका छन्। च्यानलका सब्सक्राइबरहरू १ करोड ७३ लाख १४ हजार छन्।
यस्तै, नोभेम्बर २०१६ मा शुरु भएको अर्को च्यानल रेयान फेमिली रिभ्यूका भिडियोहरू तीन अर्ब ५२ करोड ६३ लाख पटक हेरिएका छन्। यसका सब्सक्राइबर भने ३० लाख ३४ हजार छन्। युट्युबमा यति लोकप्रिय भए पनि उनी अमेरिकी हुन् भन्ने बाहेकको जानकारी संसारलाई छैन।
खेलौनाहरूसँग खेल्दै प्रशस्त कमाइरहेका रेयानले हालै एनबीसी टीभी नेटवर्कसँगको कुराकानीमा भनेका छन्, "मैले मनोरञ्जन गराइरहेको छु र म रमाइलो छु।" उनलाई खेलौनाहरूमा कार, ट्रेन, सुपरहिरो, डिज्नी टोयज आदि मन पर्छ।
युट्युब च्यानलको सोच
गत वर्ष वाशिंटन पोस्टलाई दिएको अन्तर्वार्तामा रेयानकी आमाले छोरा ३ वर्षको छँदै उनको नाममा युट्युब च्यानल चलाउने सोच आएको बताएकी थिइन्। उनले भनेकी थिइन्, "रेयान सानैदेखि खेलौनाको रिभ्यू आउने टीभी च्यानलहरू धेरै हेर्थ्यो।"
उनकी आमाका अनुसार एक दिन रेयानले सोधे, 'अरु बच्चाजस्तै म युट्युबमा किन छैन?' त्यसपछि युट्युब च्यानल चलाउने सोच आएको उनले बताइन्। "हामी खेलौनाको पसलमा गयौं, एउटा लिगो ट्रेन खरीद गर्यौं र त्यसैबाट शुरुवात भयो," उनले अन्तर्वार्तामा बताएकी थिइन्। एजेन्सी
हेर्नूस् भिडियो