मेस्सी र रोनाल्डोको दबदबा तोड्दै मोड्रिचले जिते ब्यालोन डी ओर
फिफा विश्वकप २०१८ को उपविजेता क्रोएसियाका कप्तान तथा स्पेनिस क्लब रियल म्याड्रिडका मिड फिल्डर लुका मोड्रिचले सन् २०१८ को ब्यालोन डी ओर अवार्ड जितेका छन्।
फ्रान्सको राजधानी पेरिसमा १७ मंसिरमा आयोजित कार्यक्रममा मोड्रिचले रोनाल्डो र मेस्सी युगको अन्त्य गर्दै विश्व फुटबलको प्रतिष्ठित अवार्ड जितेका हुन्। सन् २००७ मा ब्राजिलका काकाले ब्यालोन डी ओर अवार्ड जितेयता उक्त ट्रफीमा १० वर्ष पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीले राज गरेका थिए।
सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा गरी पाँच पटक रोनाल्डो र सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा गरी पाँचै पटक मेस्सीले ब्यालोन डी ओर जितेका थिए।
यस पटक रोनाल्डो दोस्रो स्थानमा सीमित भए। मेस्सी भने पाँचौं स्थानमा रहे। तेस्रो र चौथौ स्थानमा विश्व विजेता फ्रान्सका एन्टोनी ग्रिजम्यान र केलिएन एम्बाप्पे छन्।
फुटबल पण्डितहरूले यसलाई रोनाल्डो र मेस्सी युगको अन्त्य भएको अर्थका रूपमा समेत चर्चा गरिरहेका छन्। विश्वकपका सर्वोत्कृष्ट खेलाडी मोड्रिचले यस वर्षको गोल-५० अवार्ड पनि जितेका थिए।
के हो ब्यालोन डी ओर?
सन् १९५६ बाट फ्रान्स फुटबलले युरोपका फुटबल खेलाडीलाई दिन शुरु गरेको ब्यालोन डी ओर अवार्ड सन् २००७ बाट विश्वभरका खेलाडीलाई दिन थालेको थियो।
सन् २०१० देखि २०१५ सम्म उक्त अवार्ड फुटबलको सर्वोच्च संस्था फेडेरेसन अफ इन्टरनेसनल फुटबल एसोसिएसन (फिफा) र फ्रान्स फुटबलले संयुक्त रूपमा दिएका थिए।