काठमाडौं भएन ‘नो हर्न’, प्रदेश-५ मा मिल्ला त सफलता?
संघीय राजधानी काठमाडौंमा असफल बनेको ‘नो हर्न’ अभियान प्रदेश-५ मा पनि लागू भएको छ। १ मंसीरमा बुटवलबाट शुरु भएको अभियान १५ मंसीरदेखि दाङको तुलसीपुर नगरपालिकामा पनि लागू भएको छ। प्रदेशका सबै उपमहानगरमा लागू गर्ने तयारी छ।
प्रदेशमा बुटवल, तुल्सीपुर, घोराही र नेपालगञ्ज गरी ४ उपमहानगरपालिका छन्। काठमाडौंमा जस्तै तुलसीपुरमा पनि एक वर्षअघि यस्तै असफल अभ्यास भएको थियो। केही दिनभित्रै दाङकै घोराहीमा लागू गर्ने तयारी छ।
अचानक लागू भएको यस्तो नियमका कारण धेरैजसो सवारी चालक झुक्किइरहेका छन्। शुरुका दुई सातालाई प्रचारात्मक अवधि तोकिएको छ। त्यस अवधिमा सडकमा ट्राफिक प्रहरीले चालकहरूलाई सावधान गराइरहेका छन्। उक्त समय १७ मंसीरमा सकिँदैछ।
बुटवलस्थित प्रदेश-५ ट्राफिक कार्यालयका अनुसार १७ मंसीरपछि निषेधित क्षेत्रमा हर्न बजाए चालकले रु. १ हजार ५ सयसम्म जरिवाना तिनुपर्नेछ। १८ मंसीरदेखि निषेधित क्षेत्रमा हर्न बजाउने चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कारवाही हुने कार्यालयका उपरीक्षक गणेश चन्द बताउँछन्।
हर्न निषेध गर्दा ध्वनि प्रदुषण र तीव्र गति कम हुने र सवारी दुर्घटना घट्ने प्रदेश-५ का प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसी बताउँछन्। भन्छन्, “अब ट्यार ट्यार हर्न बजाउँदै उछिन्ने र तीव्र गतिमा बेसुरमा सवारी हाँक्ने प्रवृत्ति कम हुनेछ।”
बुटवलमा मुख्य बजार क्षेत्रको पूर्व-पश्चिम राजमार्गको तिनाउ पुलदेखि बेसक्याम्प तथा सिद्धार्थ राजमार्गको चौराहदेखि गोलपार्कसम्मलाई ‘हर्न निषेधित क्षेत्र’ तोकिएको छ। विस्तारै नगर क्षेत्रभर विस्तार गर्ने योजना छ।
नेपालमा ध्वनि प्रदुषणका कारण १४ प्रतिशत मानिसमा बहिरोपन देखिएको विज्ञहरूको दाबी छ। यसमा सवारी साधनहरूबाट हुने ध्वनि प्रदूषणको हिस्सा सबैभन्दा बढी छ।
प्रदेश-५ का प्रहरी प्रमुख नायब महानिरीक्षक पीताम्बर अधिकारी भन्छन्, “बजार क्षेत्रमा सवारीका हर्नबाहेक अरू सुन्न छोडिएको छ। दुर्घटना कम गर्न मात्र होइन, शहर बजार शान्त र स्वच्छ बनाउन पनि यो अभियानलाई सफल बनाउन जरुरी छ।”
दीपक ज्ञवाली, बुटवल