मोदीका दूत बनेर योगी आदित्यनाथ जनकपुर आउँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिनिधित्व गर्दै भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ राम-जानकी विवाह उत्सवमा सहभागी हुन जनकपुर आउने भएका छन् ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार आफ्नोतर्फबाट आदित्यनाथको प्रतिनिधित्व हुने प्रधानमन्त्री मोदीको सन्देश प्राप्त भएको छ । “हामीले प्रधानमन्त्रीलाई नै निमन्त्रणा गरेका थियौं, उहाँले आफू आउन नसक्ने भएकाले आफ्नो प्रतिनिधित्व गर्दै उत्तरप्रदेशका मुख्यमन्त्रीलाई पठाउने सन्देश पठाउनुभएको छ,” मन्त्री ज्ञवालीले हिमालखबरसँग भने, “मुख्यमन्त्रीलाई निमन्त्रणा पठाउने औपचारिकता पूरा गर्न बाँकी नै छ ।”
परम्परागत रूपमा चलिआएको संस्कार र मुख्यमन्त्री नै भएका नेताले औपचारिक निमन्त्रणा गर्नुपर्ने अवस्था रहेको तर निर्णय भइनसकेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
उत्तरप्रदेशको राजधानी लखनऊ पुगेका हिमालखबर संवाददाता ईश्वरचन्द्र झाका अनुसार मुख्यमन्त्री आदित्यनाथले विवाह उत्सवमा सहभागी हुने आतुरता प्रकट गरेका छन् ।
लखनऊस्थित मुख्यमन्त्री निवासमा १७ मंसीर बिहान जनकपुरका सञ्चारकर्मीहरूसित कुरा गर्दै आदित्यनाथले दुवै मुलुकबीच सहमति बने जानकीधाम आउन आफू आतुर रहेको बताए । पटक-पटक नेपाल गए पनि जनकपुरधाम अहिलेसम्म पुग्न नसकेको उनले बताए ।
“विवाह पञ्चमीमा सहभागी हुन पाए त्यो नितान्त सांस्कृतिक यात्रा हुनेछ,” आदित्यनाथ भने, “यो सांस्कृतिक यात्राले जनकपुरधाम र अयोध्यालाई अझ नजिक ल्याउन मद्दत गर्नेछ ।”
जनकपुरधाममा राम-जानकी विवाह उत्सवमा सहभागी हुन उनी २६ मंसीरमा जन्तीसँगै पुग्ने योजनामा छन् ।
प्रदेश-२ सरकारले उनको आगमनका लागि आन्तरिक तयारी गर्दै आएको छ । ११ मंसिरमा मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको पत्रकार सम्मेलनमा आदित्यनाथको आगमनलाई लिएर संघीय सरकारले समेत तयारी गरिरहेको बताएका थिए । परराष्ट्र मन्त्रालयका प्रोटोकल अफिसरहरूको जनकपुर भ्रमण र सुरक्षा प्रमुखहरूको बैठक बाक्लिँदै जानुलाई पनि आदित्यनाथको आगमनको तयारीका रूपमा आफूले बुझेको मुख्यमन्त्री राउतको भनाइ थियो ।
यसअघि आदित्यनाथले जयनगर-जनकपुर रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम सार्वजनिक भएको थियो । त्यसबाट प्रोटोकल मिचिने बताउँदै प्रदेश-२ को प्रदेशसभामै विरोध भएको थियो । सोही कारण रेलमार्ग उद्घाटनको कार्यक्रम स्थगित गरिएको छ ।
जनकपुरको बाह्रबिघामा जानकी मन्दिरले आदित्यनाथका लागि मञ्च तयार गरिरहेको छ । आदित्यनाथले जानकी मन्दिर दर्शन गर्ने र प्रदेश सरकारले जन्तीहरूका लागि आयोजना गर्ने दिवा भोजमा समेत सहभागी हुने कार्यक्रम छ ।