एनआईसी एशिया ब्यांकको सिईओमा न्यौपाने नियुक्त
एनआईसी एशिया ब्यांक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् ।
१६ मंसीरमा बसेको ब्यांकको सञ्चालक समिति बैठकले न्यौपानेलाई सिईओमा नियुक्त गरेको हो । न्यौपाने यसअघि ब्यांकको कामु प्रमुख कार्यकारी अधिकृत थिए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई १६ मंसीरमा सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ गराएका छन् ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालिन ब्यांक अफ एशिया नेपाल लिमिटेडबाट ब्यांकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले ब्यांकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।
न्यौपाने चार्टर्ड एकाउण्टेन्ट समेत हुन् । यसअघि ब्यांकको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल थिए । एनआईसी एशिया ब्यांकका २६८ शाखा र २८१ एटीएम रहेका छन् ।