अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
अमेरिकाको राष्ट्रपति पदका लागि ७० वर्षीय व्यवसायी डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
गत मंगलबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मत भन्दा बढी उनले प्राप्त गरिसकेका छन् । यद्दपी अन्तिम परिणाम आउन बाँकी नै छ ।
रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २७६ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनले २१८ मत मात्रै प्राप्त गरेकी छन् ।
‘पपुलर भोट’ मा पनि ट्रम्प नै अगाडि छन् ।
मिडिया र विभिन्न एजेन्सीहरुको अनुमान विपरित ट्रम्पले निकटतम प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टन भन्दा बढी मत प्राप्त गरी विश्वकै शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेका छन् ।
अर्थशास्त्रमा स्नातक ट्रम्प रियलस्टेट, निर्माण कम्पनी, टेलिभिजन कार्यक्रम उत्पादन लगायतका भेन्चरको प्रिन्सपल होल्डिङ ट्रम्प अर्गनाइजेशनका मालिक हुन् । अमेरिकी अरबपति ट्रम्पको मिस युनिभर्स, मिस यूएसए, मिस टिन यूएसए जस्ता प्रतियोगिता गराउने संस्थाहरुमा समेत संलग्नता छ ।
अब उनको शपथग्रहण भने आगामी २० जनवरीमा मात्रै हुनेछ ।
अमेरिकामा राष्ट्रपतिको निवार्चन प्रत्येक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार र शपथग्रहण २० जनवरीमा हुने संवैधानिक व्यवस्था छ ।
दक्षिणपन्थी भनेर चिनिएका ट्रम्पको विजय सुनिश्चित हुँदै गर्दा विश्व शेयर बजारमा त्यसको नकारात्मक असर परेको छ । अमेरिका, जापान, दक्षिण कोरिया लगायतका ठूला शेयर बजारमा गिरावट आएको छ ।
सन् १९८७ देखि १९९९ सम्म रिप्बलिकन पार्टीमा आवद्ध भएका ट्रम्प २००१ सम्म रिफर्म पार्टीमा संलग्न रहे । त्यसपछि २००१ देखि २००९ सम्म उनले डेमोक्रेटिक पार्टीलाई सहयोग गरे भने एक वर्ष स्वतन्त्र रहेर पुनः रिपब्लिकन पार्टीमा संलग्न भएका थिए ।
तीन महिलासँग विवाह गरेका (दुईजनासँग पारपाचुके) ट्रम्पका पाँच सन्तान छन् ।