राजु अधिकारी/नागरिक |
लाग्थ्यो त्यो मा'वादी सैन्य शिविर नै होइन। २३ पुसका दिन सिन्धुलीको छापामार शिविर दुधौलीमा रुनेहरू त रोए, अरूका आँखा पनि 'भानो रहेनन्। एक वर्षअघिसम्म हुँदो हो त सम्भवतः त्यहाँ बन्दुक पड्काएर बिदाइ गर्नुपर्ने आवाज उठ्न सक्थ्यो। नभए पनि क्यान्टोन्मेन्ट पूरै लाल हुनेथियो। छापामारहरू बलियोसँग मुठी कसेर सलाम गरेर बिदा हुन्थे। समग्रमा युद्ध जारी छ भन्ने जनाउ दिइन्थ्यो। किनकि छापामार शिविरहरू युद्ध विज्ञानका रणनीति र कार्यनीति पढ्ने/पढाउने, सिक्ने/सिकाउने ठाउँ हुन् पनि। तर, यस पटक सिन्धुलीको दुधौली शिविरमा त्यस्तो देखिएन।
यतिसम्म कि त्यहाँ कडा शब्द र चर्को शैलीमा फौजी र राजनीतिक कुरा पनि भएनन्। केहीले यतिसम्म मात्रै भने, “अनमिन र सरकारले अयोग्य भने पनि हामी अयोग्य त होइनौं।” हुन पनि तोकिएको मापदण्डभित्र नपरेका लडाकू लाई न्यूनतम योग्यता नपुगेको अर्थमा अयोग्य भनियो। त्यो हदसम्मको उनीहरूको गुनासो नाजायज पनि होइन।
अनुमान गरौं त, १० वर्षसम्म हिंसात्मक लडाइँ गरेका छापामारको आवासमा शान्तिप्रक्रिया जारी रहेको भनिएको पछिल्लो समयमा के हुर्किरहेको होला? स्वाभाविक छ मा'वादको अध्ययन अनि तालिम र सैन्य अभ्यास। अर्को वाक्यमा मा'वादी सैन्य रणनीति र कार्यनीतिको विचार-विमर्श। नेपाली सेनासरहको हैसियत देखाउनै भए पनि नियमित तालिम र हतियार अभ्यास जारी राखेको देखाउनु जरुरी थियो होला। तर, दुई वर्षदेखि शिविरमा बसेका आफ्ना कमरेड हरूको बिदाइमा उनीहरू जसरी प्रकट भए त्यसले त्यहाँ युद्ध-विज्ञानको अध्ययन र अभ्यास भन्दा भिन्दै मनोविज्ञान हुर्किरहेको आभास दिन्थ्यो।
शिविरबाट बाहिरिएका छापामारहरूको तस्बिरले छापामाध्यममा राम्रो स्थान पाएका छन्। तिनको अनुहारमा एउटा छुट्टै सन्देश पढ्न पाइन्छ। मिलन र विछोड दुवैमा आँसु आउँछ त्यो स्वभाबिक कुरा हो। तर, छुट्टिन लागेका प्रेमी/प्रेमिकाप्रतिको माया, पेटको बच्चालाई धर्तीमा आउन दिने सहज वातावरणको तयारी र होसियारी, काखको बच्चा हुर्काउने जिम्मेवारीप्रति त्यहाँ व्यक्त चिन्ताले ध्वंस होइन निर्माणको सङ्केत गर्छ। शिविरमा कोही स्कूल तहको कक्षाको तयारी गरिरहेका रहेछन् त कोही कलेज तहको। कलेजतहको परीक्षा दिनेहरू परीक्षाफल पर्खिएर बसेका रहेछन्। परीक्षाफल पर्खिनु भविष्यको खोजी गर्न र भविष्यप्रति आशावादी हुन सिक्नु हो।
अहिले मुलुकमा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रयत्न भइरहेको छ। शिविरका छापामारलाई मा'वादीले रणनीतिक कार्डका रूपमा प्रयोग गर्न अझ्ै छाडेको छैन। पहिला संविधान अनि मात्रै सेना समायोजन भनेर बेलाबखत आउने मा'वादी नेताको भनाइबाट पनि यो पुष्टि हुन्छ। तर, शिविर छाडेर निस्किएका कुनै पनि छापामारले अर्को युद्धको तयारी गर्ने जस्ता उत्तेजक अभिव्यक्ति नदिनुले मा'वादीको यो कार्ड कमजोर हुँदै गएको आभास हुन्छ। चितवनको शक्तिखोरमा एकजना मा'वादी सैन्य कमाण्डरले अब तपाईंहरूको सेनासँगको सम्बन्ध टुटेर पार्टीसँग जोडियोसम्म भनेका छन्। उनले ठीकै भने, किनकि अब मा'वादी छापामारहरू लडाइँको मोर्चा छाडेर राजनीति गर्न जानुको विकल्प पनि थिएन। बन्दुक बोक्ने छापामारले राजनीति गर्छु भन्नु मात्रै पनि हतियारको विसर्जन हो।
विद्रोह र हिंसाका लागि नेपाली समाज उर्वर देखिन्छ। डढेलो लाग्न उपयुक्त वातावरण तयार छ, आगो कोरिदिने भए मात्र पुग्छ। त्यसैले धेरैलाई शिविर छाडेका छापामारप्रति भय हुन सक्छ। तर, केही अपवादलाई छाडेर लामो इख नराख्ने, क्षमा दिने र मिलेर बस्ने संस्कृति नेपाली समाजको बिशेषता हो। त्यसैले कसैले चाहँदैमा नेपाली समाजलाई बिथोल्न सजिलो छैन भन्ने उदाहरण अहिले जातीयताका आधारमा सङ्घीय संरचना निर्माण गर्ने प्रस्ताव तयार हुँदा पनि विरोधको स्तर नखस्किएबाट प्रष्ट हुन्छ। त्यसैले यहाँनेर अयोग्य भनिएका मा'वादी छापामारहरूले शङ्काको सुविधा पाउनुपर्छ। तर, जीवनको महत्वपूर्ण कालखण्डमा एउटा छुट्टै काम गरेकाहरूलाई भोलिपल्टदेखि नै भैंसी पाल अथवा चुलो बनाऊ भनियो भने त्यसले उनीहरूलाई उत्तेजित बनाउन सक्छ। त्यसकारण उनीहरूको व्यवस्थापनको जिम्मेवारी कुनै अमूक गैरसरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई दिएर हुन्न। त्यस्तै जीवनको उर्वर १० वर्षसम्म लडाइँ, हतियार र मा'वाद रटेका छापामारहरूको भविष्य अब मा'वादीको मात्रै चासोको विषय पनि हुनुहुन्न। यसको व्यवस्थापन र रेखदेखका लागि सरकार, दल र नागरिक निकायहरू अघि सर्नुपर्छ। त्यसो त शक्तिखोर शिविरबाट छापामार बिदाइका क्रममा उपहार दिइएको रातो गुलाबले समायोजन र रेखदेख कठिन छैन भन्ने सङ्केत गरिसकेको छ।