रासस काठमाडौंको गोठाटारमा ६ माघमा भएको साधारण भनाभन प्रकरणमा भएको बालक सन्तोष कार्कीको मृत्युको विरोधमा स्थानीयवासीहरू। |
आफ्नै जग्गामा जसरी सडकमा गिटी राख्नु त भएन नि!
मैले बाटोमा गिटी राख्दा तँलाई के भयो?
गाडी र मान्छेको आवतजावतमा बाधा पुग्यो।
तँलाई केको टाउकोदुखाई? यो बाटो तेरो मात्रै हो?
होइन, बाटो सबैको हो। सार्वजनिक बाटो अवरुद्ध गर्ने गिटी हटाइहाल्नुस्!
काठमाडौं काँडाघारीका राजाराम थापा र रत्न लामाबीच ६ माघ बिहान भएको यो भनाभन अन्ततः एक निर्दोष बालकको ज्यानै लिने अवस्थासम्म पुग्यो। थापा र लामाबीचको विवादपछि भएको गोली प्रहारबाट दोलखा शैलुङ्गेश्वर-१ का शम्भु कार्कीका १० वर्षीय छोरा सन्तोष कार्कीको अनाहकमा ज्यान गयो। उनी श्रीपञ्चमीका दिन विद्यालयमा सरस्वती पूजा गरी घर फर्कंदै थिए।
सार्वजनिक ठाउँमा जथाभावी थुपारेका निर्माण सामग्री मानिसको ज्यानै लिनेे झ्गडाको बीउ बनेको उदाहरण हो यो। हिजोसम्म यस्ता विषयमा हुने भनाभन सहमतिपछि साम्य पारिन्थ्यो तर आज मानिसहरूमा सहन नसक्ने प्रवृत्तिले ज्यानै लिनेसम्मका घटना हुन थालेका छन्। सार्वजनिक ठाउँमा थुपारिएका यस्ता निर्माण सामग्री ट्राफिक जाम र सवारी दुर्घटनाको कारक समेत बनेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पङ्कज श्रेष्ठ अधिकांश दुर्घटनाको मुख्य कारण नै मानवीय त्रुटि र लापरवाही भएको बताउँछन्। महाशाखाका अनुसार कात्तिकमा २८६, मङ्सिरमा ३३३ र पुसमा ३१३ वटा दुर्घटना मानवीय कमजोरीले भएको थियो भने सोही अवधिमा यान्त्रिक कमजोरीका कारण न्यून दुर्घटना भएको थियो।
अव्यवस्थित र मर्मत नगरिएका सडक, सार्वजनिक ठाउँमा थुपारिएका निर्माण सामग्री, पैदल यात्रुको लापरबाही, तीब्र गतिको सवारी साधन, मादक पदार्थ सेवन, 'भरलोड आदिबाट अत्यधिक दुर्घटना हुने गरेको छ। सवारी दुर्घटनाका कारण बर्सेनि सरदर १०४ जनाको मृत्यु भएको ट्राफिक महाशाखाको अभिलेखमा उल्लेख छ।
सार्वजनिक ठाउँमा थुपारिएका निर्माण सामग्री मात्र होइन निर्धक्कसँग बाटोमै राखेर रोडा घोल्ने मेशिनले समेत दुर्घटना निम्त्याएका छन्। पेटी खाली नभएपछि पैदल यात्रुहरू सडकमा हिँड्दा हुने दुर्घटना एकातिर छ भने अर्कोतिर मूल सडक अस्तव्यस्त हुँदा हुने गरेको छ।
समाधान कसरी
काठमाडौं महानगरपालिका (कामनपा) ले यसरी जथाभावी थुप्राइएका निर्माण सामग्री हरेक दिन १५-२० ठाउँबाट उठाउने गरेको छ। तर यो सडक अवरोधको सानो हिस्सा मात्र भएको महानगरपालिकाकै कर्मचारीहरू स्वीकार्छन्। कामनपाका नगर प्रहरी निरीक्षक धनपति सापकोटाका अनुसार यसबाट पनि समस्या समाधान नभएपछि साङ्केतिक कारबाहीका लागि कामनपाले ४०-५० जना कर्मचारी खटाएको छ।
स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा सार्वजनिक बाटो वा स्थान घेर्ने वा रोक्ने, आवतजावतमा अवरोध खडा गर्ने काम गरेमा त्यस्ता अवरोधका सामान हटाउन लगाई रु.१५ हजारसम्म जरिवाना गराउन सकिने प्रावधान छ। नगरपालिकाका अनुसार उठाएको रड जरिवाना तिरेर लिन आए पनि गिटी, बालुवा र इँटा लिन धेरैजसो आउँदैनन्। कतिपय जरिवाना तिर्न समेत अटेर गर्छन्। महानगरपालिकाका अधिकारीहरूका अनुसार जरिवाना नतिर्नेको विद्युत्, पानी, टेलिफोन आदि काट्ने व्यवस्था गरेमा कारबाहीमा कडाई गर्न सकिन्छ।
थाहा नपाएर मात्र होइन, हेपाहा प्रवृत्तिका कारण कानुन उल्लङ्घन भएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठको बुझ्ाइ छ। समाजमा प्रतिष्ठित भनिएका व्यक्तिहरूले नै नियम उल्लङ्घन गरेको नगर प्रहरी निरीक्षक सापकोटा बताउँछन्। उनले हिमाल सँग भने, “त्यस्ता मानिसको सामान उठाएपछि मोबाइलमा नन-स्टप घण्टी बज्न थाल्छ।” यसैगरी राजनीतिक दलको संरक्षणमा सवारी चालकबाट भएका गल्ती ढाकछोप गरिँदा कारबाही गर्न नसकिएको महाशाखाका अधिकारीहरू बताउँछन्।
समस्या जटिल भएपछि ऐनमा संशोधन गरेर २०० प्रतिशतसम्म जरिवाना बढाउनुपर्ने र सवारी चालक अनुमतिपत्र खारेजीको व्यवस्था गर्न महाशाखाले ट्राफिक निर्देशनालयमा सिफारिस गरेको छ। नयाँ सवारी चालक अनुमतिपत्र वितरण प्रणालीमा प्रभावकारी सुधार गर्न, मादक पदार्थ सेवन तथा लापरवाहीपूर्वक सवारी चलाउनेलाई कडा कारबाही गर्न विद्यमान ऐनमा संशोधन गरी छुट्टै कानुनी व्यवस्था गर्न महाशाखाले सिफारिस गरेको छ।