हिमालखबर.कम BETA  

 

 

 

टिप्पणी
नयाँ शक्तिको खोजी
नवीन झा

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

रासस
२ माघमा मधेशी जनअधिकार फोरमले वीरगन्जमा निकालेको विरोध र्‍याली।
१३ माघमा उपेन्द्र यादव नेतृत्वको फोरमले थारू नेता लक्ष्मण थारूसँग आन्दोलनका लागि कार्यगत एकता गर्‍यो। एकदिनअघि मात्रै शान्ति मन्त्रालयमा १८ बुँदे मागपत्र बुझ्ाएको फोरमले मावादी नेतृत्वको सरकारबाट बाहिरिएलगत्तै घोषणा गरेको आन्दोलनका लागि आठ-आठ महिनासम्म पनि वातावरण सिर्जना गर्न नसकेपछि आफ्नो प्रभाव घटेको पश्चिम नेपालमा सामान्य प्रभाव भएका थारूसँग मिल्न पुगेको बुझन सकिन्छ। थारू कल्याणकारी सभामा कमजोर सावित लक्ष्मण थारूले पनि फोरमको आड लिन खोजेको स्पष्ट छ।

मधेशमा विकसित पछिल्लो राजनीतिक अवस्थाले यो एकताबाट पनि फोरमको आन्दोलनले नयाँ उचाइ पाउने देखाउँदैन। यादवद्वारा घोषित आन्दोलनलाई मधेशी समुदायले नै नपत्याएपछि थारू समुदायको विश्वास जित्न खोज्ने एउटा सामान्य कसरत मात्र देखिन्छ यो। आठ महिनासम्म आन्दोलनको नाममा जिल्ला-जिल्ला पुगेका केन्द्रीय नेताहरूको दौडाहाको बेला बनेको वातावरणले पनि फोरमकै बलमा अबको आन्दोलन हुन नसक्ने दर्शाइसकेको छ। नेपालगञ्ज, जनकपुर, वीरगञ्ज, कपिलवस्तु र सिरहालगायतका विरोधसभाहरूमा भएका झ्डपले फोरमले आह्वान गरेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउन थालिसकेको छ।

संविधानसभाको निर्वाचनमा काङ्ग्रेस, एमालेका दिग्गजहरूलाई चुनौती दिएको नेपालगञ्जमा एक महिनाअघि आयोजित विरोधसभामा पाँच सयको पनि उपस्थिति थिएन। कपिलवस्तुमा सह-अध्यक्ष जयप्रकाश गुप्ताले जिल्लाकै कार्यसमितिबाट दुर्व्यवहार खेप्नु परेको थियो। जनकपुरमा भएको झ्डपमा करिब आधा दर्जन कार्यकर्ता घाइते भएका थिए। गएको आठ महिनामा फोरमले आयोजना गरेका कुनै कार्यक्रम पूर्ण सफल भएका छैनन्। मधेशमा तेस्रो आन्दोलन गरेर आँधीबेरी सिर्जना गर्ने बताइरहेका उपेन्द्र यादव र जयप्रकाश गुप्ता नै यस्ता हरेकजसो घटनाका प्रत्यक्षदर्शी रहँदै आएका छन्।

तीन वर्षअघिको मधेश विद्रोहबाट उदाएको फोरमको शक्ति छिन्नभिन्न हुन थालेपछि मधेशमा नयाँ शक्तिको खोजी हुन थालेको छ। १ माघ २०६३ मा अन्तरिम संविधान जारी भएलगत्तै सङ्घीयताका लागि शुरु भएको मधेश आन्दोलनले संविधानसभामा मधेशीहरूको सङ्ख्यात्मक प्रतिनिधित्व सुनिश्चित गरे पनि त्यसको संस्थागत विकास हुने छाँट नदेखिएपछि यस्तो शक्तिको खोजी शुरु भएको हो। आठ महिनाअघि फोरमले व्यहोरेको फुटले त्यसको औचित्यलाई थप पुष्टि गरेको छ। हेर्न बाँकी छ, मधेशको मुद्दा सम्बोधनका लागि नयाँ पात्रका रूपमा पुरानै राष्ट्रिय दलहरू अग्रसर हुने छन् वा साँच्चिकै नयाँ शक्ति जन्मने छ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।


 प्रतिलिपि अधिकार © 2009 HIMALMEDIA PRIVATE LIMITED सर्वाधिकार सुरक्षित    अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि